चाँदीका गरगहना बनाउने पेशा—कालीगढहरूको दृष्टिकोण

चाँदीका गरगहना बनाउने सिल्पलाई नेपालको साँस्कृतिक सम्पदाका रूपमा लिन सकिन्छ । यो एक स्थापित र फस्टाउँदो व्यवसाय हो । यसले ‘परम्परागत नेपाली सिल्पकला’ को चित्रण गर्नुका साथै नेपाली हस्तकलाको सौन्दर्यात्मक तथा रचनात्मक पक्षलाई झल्काउँछ ।

“नेपालमा चाँदीका गरगहना बनाउने प्रशस्तै कालीगढहरू छन । तर भारत, विशेषगरि पश्चिमी बंगालबाट ठूलो संख्यामा आउने कालीगढहरूले नेपाली कामदारहरूको रोजगारीको ठूलो हिस्सा ओगटेका छन ।”




चाँदीका गरगहना बनाउने कालीगढहरू यस क्षेत्रको परम्परागत सीप र ज्ञानमा पोख्त छन् । यस किसिमको सीप एक पीँढीबाट अर्को पीँढीमा हस्तान्तरित भएको हुन्छ । नयाँ कालीगढहरू यस व्यवसायमा संलग्न अग्रजहरूलाई सहयोग गर्दै यस क्षेत्रको सीप आर्जन गर्दछन् । यस क्रममा नयाँ कालीगढहरू चाँदीका गरगहनामा काम गर्दै आफ्नो सीप निर्खाछन्, तिनीहरूमध्ये केहीले भने पछिसम्म पनि चाँदीकै कामलाई निरन्तरता दिन्छन् । त्यस्तै कतिपय भने बजार मागअनुसार सुन तथा चाँदी दुवै का गरगहनाहरू बनाउँदछन् ।




चितवनमा विगत तीस वर्षदेखि गहना पसल खोलेर बसेका श्याम बहादुर सुनारका अनुसार उनले यो सीप आफ्ना बाबुबाट सिकेका हुन् र उनी सानै देखि नै चाँदीसँगै खेल्दै आएका छन् । “धेरैजसो कालीगढहरू गहनापसलहरूमा सहायकको रूपमा काम शुरू गर्दछन् । तर चाँदीका गहना बनाउने कालीगढहरूका लागि कुनै प्राविधिक तालिम दिने सँस्था नै छैन,” सुनार भन्दछन् । त्यस्तै, चाँदीका गहना बनाउने धेरैजसो प्रक्रियामा कुनै स्वचालित तथा अत्याधुनिक उपकरणहरूको प्रयोग भएको पाइँदैन । पगाल्ने, निश्चित रूप र आकार दिने, पिटेर पातलो पत्र पार्ने, कुँद्ने, तताउने, काट्ने, सफा गर्ने, रसायन गर्ने, शुद्घ पार्ने तथा चम्काउने जस्ता कामका लागि कालीगढहरूले सामान्य उपकरणको प्रयोग गर्दछन् ।

अधिकांश कालीगढहरू गहनापसलमा नै बसेर काम गर्दछन् । कतिपय भने गहना कारखाना (वर्कसप) मा पनि काम गर्दछन् । कारखानामा कामगर्ने कालीगढहरूलाई गहना पसलहरूबाट अर्डर आउने गर्दछ । उनीहरूलाई उत्पादित गरगहनाको संख्याको आधारमा ज्याला दिइन्छ । गरगहनाको लागि आउने अर्डर र गहरगहना अत्याधिक बिक्री हुने समयका आधारमा एक कालीगढले प्रतिमहिना १५ देखि ४० हजार रुपियाँसम्म कमाउन सक्छ । विवाह र चाडपर्वका वेलामा गरगहनाका लागि उनीहरूलाई अघिपछिभन्दा धेरै अर्डर आउने गर्दछ ।
चाँदीका गरगहना बनाउने क्षेत्रले भोग्नुपरेका समस्याका बारेमा अर्का कालीगढ राजेन्द्र वि.क. भन्दछन्, “नेपालमा चाँदीका गरगहना बनाउने प्रशस्तै कालीगढहरू छन । तर भारत विशेषगरि पश्चिमी बंगालबाट ठूलो संख्यामा आउने कालीगढहरूले नेपाली कामदारहरूको रोजगारीको ठूलो हिस्सा ओगटेका छन ।” भारतबाट आयात हुने उत्पादनहरू सस्ता र मेशिनले फिनिसिङ् गरिएका हुन्छन् । तिनीहरू तुलनात्मक रूपमा सस्ता भए पनि आयातकर्ताले हातले कुँदिएका गहनाहरू बढी मन पराउँदछन् । राजेन्द्रका अनुसार हातबाट बनेका
गरगहनाका प्रत्येक आइटम एक अर्कोदेखि फरक हुने हुँदा धेरै विदेशीले मन पराउँछन् । “नेपाली चाँदीका गरगहनामा भएको विविधता तथा यिनीहरूको डिजाइन नै यी गहना बिक्रीको मुल कारण हो,” उनी भन्छन् । हालसालै चाँदीको मुल्यमा आएको वृद्विले स्थानीय बजारमा चाँदीका गरगहनाको मागमा पनि कमी आएको छ, जसले गर्दा कालीगढहरूको कामको मात्रा पनि घट्न पुगेको छ ।


चाँदीका गरगहनाको माग विश्वव्यापी रूपमा बढ्दो छ । यसको विश्व बजारमा निर्यात् सन् २००६ र २०१० को बीचमा औसत १३ प्रतिशतले वृद्वि भएको थियो । चाँदीका गरगहनाको निर्यातमा आएको हालैको गिरावटका बाबजुद पनि नेपालीे चाँदीका गरगहनाले युरोपेली संघका राष्ट्रहरू, रुस, दक्षिण कोरिया, दक्षिण अफ्रिका र जापानमा निर्यात गर्ने अवसर प्राप्त गरेको छ । त्यस्तै नेपाल सरकारले चाँदीका गरगहनालाई नेपाल व्यापार एकीकरण रणनीति–२०१० मा एउटा महत्वपूर्ण निर्यात वस्तुको रूपमा सूचिकृत गरेको छ । यसका अतिरिक्त चाँदीका गरगहनालाई मुल्य श्रृंखलामध्येको एकको रूपमा जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (GIZ) अन्तर्गतको विश्व व्यापार संगठन/सुदृढ एकीकृत संरचना–सहयोग परियोजना (WTO/EIF-SP) ले पनि यस क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ । चाँदीका गरगहना बनाउने कालीगढहरूलाई उचित तालिम दिन सकेको खण्डमा यस क्षेत्रले नेपाली युवाहरूको लागि रोजगारी सृजनाको क्षेत्रमा एक खुड्किलो थप्न सक्छ ।

This article was published in Nepal Trade Magazine, January 2012, Issue 2, GIZ
http://nepaltrade.org/sites/default/files/magazines/Nepal-Trade-Issue-2-Nepali1.pdf

No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...