व्यापार का लागि सहयोग र नेपाल

व्यापारका लागि सहयोग अल्पविकसित राष्ट्रहरूलाई सहयोग गर्न विश्व व्यापार संगठन (WTO) ले शुरू गरेको एउटा पहल हो । यस पहलले अल्पविकसित राष्ट्रहरूमा विश्व व्यापार संगठन सम्झौताको कार्यान्वयन, उक्त सम्झौताबाट लाभ लिनका लागि आवश्यक पर्ने व्यापारसम्बन्धी सीप तथा पुर्वाधारको सुदृढीकरण र अन्ततः ती राष्ट्रहरूको व्यापार प्रवर्धनमा सहयोग गर्दछ । 


व्यापारका लागि सहयोग (AfT) के हो ?

व्यापारका लागि सहयोग (AfT) व्यापारमा अल्पविकसित राष्ट्रहरूको पहुँच वृद्वि गर्ने उद्देश्यले विश्व व्यापार संगठनद्वारा सञ्चालित एक पहल हो । व्यापारका लागि सहयोगले अल्पविकसित राष्ट्रहरूको व्यापार सम्बन्धी सीप तथा साधनमा पहुँच वृद्धि गरी ती राष्ट्रहरूलाई विश्व व्यापार संगठनको सम्झौताबाट अधिकतम लाभ लिन सहयोग गर्दछ । त्यस्तै यस सहयोग कार्यक्रमले अल्पविकसित राष्ट्रहरूलाई वस्तु तथा सेवाको निर्यात, बहुपक्षीय व्यापार प्रणालीमा समावेश, उदार व्यापार नीति र बढ्दो बजारको पहुँचबाट फाइदा लिनमा बिशेष सहयोग पुर्याउँछ। 

सन् २००५ डिसेम्बरमा विश्व व्यापार संगठनको हङ्कङ्म न्त्रीस्तरीय सम्मेलनले एक कार्यदलको गठन गरी व्यापार का लागि सहयोग संयन्त्रको शुरूवात गरेको हो । सन् २००६ जुलाईमा उक्त कार्यदलले सेवाग्राही राष्ट्रहरूको आवश्यकतामाथि व्यापारका लागि सहयोग केन्द्रित हुनपर्ने, यसले सेवाग्राही राष्ट्र र दाताबीच सम्बन्ध सेतुको काम गर्न‘पर्ने कुराको अनुमोदन गर्यो । साथै, उक्त कार्यदलले विश्व व्यापार संगठनमा आबधिक पुनरावलोकनका लागि सरोकारवालाहरूबाट प्राप्त जानकारीका आधारमा एउटा अनुगमन दल गठनका लागि पनि अनुमोदन गर्यो । 

विश्व व्यापार संगठन अन्तर्गतको सुदृढ एकीकृत संरचना (EIF) अल्पविकसित राष्ट्रहरूको लागि तयार गरिएको एउटा यस्तो संयन्त्र हो जसले व्यापारका लागि सहयोग कार्यक्रमको मूल्यांकन गर्दछ । विश्व व्यापार संगठनमा सन् १९९७ मा स्थापना गरिएको एकीकृत संरचनाको पुनरावलोकन गरी सन् २००५ मा सुदृढ एकीकृत संरचनाको स्थापना गरिएको थियो । सुदृढ एकीकृत संरचना एक बहुदातृ कार्यक्रम हो । यसले अल्पविकसित राष्ट्रहरूलाई विश्व व्यापार प्रणालीमा अझै बढी सक्रिय बनाउन उनीहरूको निर्यात क्षमताको सुधारमा सहयोग पुर्याउँछ । हालै सुदृढ एकीकृत संरचनालाई इआइएफ ट्रष्ट कोष नामक एक बहुदातृ ट्रष्ट कोषले सहयोग गर्दै आएको छ । यसमा २३ दातृ निकायहरूको योगदान रहेको छ । यसबाट ४७ अल्पविकसित राष्ट्रहरू लाभान्वित हुँदै आएका छन् ।

विश्व व्यापार संगठनले दुइपक्षीय, क्षेत्रीय र बहुपक्षीय दातृ निकायहरूबाट थप सहयोगको प्रवाह बढाइ व्यापारका लागि सहयोगको परिचालनमा मुख्य भुमिका खेल्दछ । यो संगठनले अल्पविकसित राष्ट्रहरूको राष्ट्रिय विकास रणनीतिलाई व्यापारको मुलप्रवाहमा ल्याउनका लागि पनि उत्प्रेरकको भुमिका खेल्दछ ।

सहयोगी साझेदारहरू

सन् २००६ मा व्यापारका लागि सहयोग कार्यदलले विश्व व्यापार संगठनका महानिर्देशकलाई एक सल्लाहकार समूह गठन गर्न सिफारिस गर्यो । त्यसपछि महानिर्देशकले व्यापारका लागि सहयोगका प्रमुख दाताहरूबीच समन्वय गर्नका लागि विश्व व्यापार संगठनमा विकासका साझेदारहरू सहितको एउटा सल्लाहकार समूह गठन गरे । यस सल्लाहकार समूहमा अफ्रिकी विकास बैंक, एसियाली विकास बैंक, पुनर्निर्माण तथा विकासका लागि युरोपेली बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), अन्तर अमेरिकी बिकास बैंक, इस्लामीक बिकास बैंक, आइटिसी, ओइसिडी, युएनसिटिएडी, युएनडीपी, युएनइसिए, युएनआइडिओ र विश्व बैंक सदस्य रहेका छन् ।

व्यापारका लागि सहयोगको कार्यान्वयन

सन् २००६ को कार्यदलको सिफारिसको आधारमा व्यापारका लागि सहयोग (AfT) पहल सन् २००७ मा कार्यान्वयनको पहिलो चरणमा प्रवेश गर्यो । त्यसपछि विश्व व्यापार संगठनले अल्पविकसित राष्ट्रहरूलाई विश्व दातृनिकाय र सेवाग्राही राष्ट्रमा व्यापारका लागि सहयोगको कार्यान्वयनलाई मार्गनिर्देशन गर्न एक अनुगमन प्रणालीको शुरूवात गर्यो । व्यापारका लागि सहयोग कार्यदलले व्यापारका लागि सहयोगलाई सरोकारवालाहरूबाट प्राप्त जानकारीका आधारमा क्षेत्रीय र विश्वस्तरमा पुनरावलोकन गर्न अनुमोदन गर्यो ।

क्षेत्रीय पुनरावलोकनले व्यापार सहयोगको बारेमा आवश्यक जानकारी उपलब्ध गराउँछ । यसले योजनाको कार्यान्वयनमा सक्रिय भूमिका खेल्नुका साथै प्राथमिकताहरूको पहिचान गर्नमा सघाउ पुर्याउँछ। यो पुनरावलोकन ती प्राथमिकताहरूलाई मध्यनजर गर्दै सन्तुलित योजना बनाउने एक संयन्त्र पनि हो । विश्व व्यापार संगठनले सन् २००७ मा पेरु, फिलिपिन्स र तान्जानिया र सन् २००९ मा जाम्बिया, जमैका र क्याम्बोडियाका सरकार र तिनका क्षेत्रीय बैंकहरुसँगको सहकार्यमा क्षेत्रीय व्यापारका लागि सहयोगको पुनरावलोकन गर्यो ।

विश्व व्यापार संगठन अन्तर्गतको अनुगमन इकाइले व्यापारका लागि सहयोगको बर्षको दुइपटक विश्वव्यापी स्तरमा पुनरावलोकन गर्दछ । क्षेत्रीयस्तरमा संकलन गरिएका सुचनाहरूको आदनप्रदान नै विश्वव्यापी पुनरावलोकन हो । यस पुनरावलोकनको उद्देश्य व्यापार का लागि सहयोगको निरीक्षण र कार्यान्वयन पक्षलाई सुदृढ पार्दै दातृनिकाय र सेवाग्राहीहरूलाई व्यापारका लागि सहयोगको कार्यसुचि विस्तार गर्नमा अभिप्रेरित गर्नु हो । यसका अतिरिक्त विश्वव्यापी व्यापारका लागि सहयोग पुनरावलोकनले चालु गतिविधिहरूको गहन अध्ययन, हुनुपर्ने गतिविधिहरूको पहिचान तथा विश्व व्यापार संगठनको अनुगमन र कार्यान्वयनमा सुधार गर्दछ । विश्व व्यापार संगठनले सन् २००७, २००९ र २०११ मा जेनेभामा विश्वव्यापी पुनरावलोकनको आयोजना गरेको थियो ।

व्यापारका लागि सहयोगले अल्पविकसित राष्ट्रहरूलाई कसरी सहयोग गर्दछ ?

गरिबी घटाउने सबैभन्दा शक्तिशाली उपाय आर्थिक वृद्धि हो । वास्तवमा कुनै पनि राष्ट्रको लागि व्यापार नै आर्थिक वृद्धि गराउने प्रमुख आधार हो । सन् २००२ मा मेक्सिकोको मोन्टेरेमा आयोजना गरिएको ‘विकासका लागि लगानी’ विषयक संयुक्त राष्ट्रसंघको सम्मेलनले अल्पविकसित राष्ट्रहरूको विकासका लागि व्यापार को महत्वलाई जोड दिएको थियो । तथापि व्यापारका लागि सहयोगका बारेमा निकै अगाडि उरुग्वे सम्मेलनमा छलफल भएको थियो । पछि आएर सन् २००५ मा संयुक्त राष्ट्र सहश्राव्दी परियोजना कार्यदलले व्यापारका लागि सहयोग आफ्नो परियोजना प्याकेजको एक अभिन्न अंग भएको र यस किसिमको लगानी चालु सहयोगमा थप आर्थिक सहयोग भएको निष्कर्ष निकाल्यो ।

नेपाल र अन्य न्यून आय भएका राष्ट्रहरूले आफ्ना व्यापार प्रवर्धन गर्न र व्यापारको विविधिकरण गर्नका लागि अनेकौँ समस्याहरूसँग जुध्नु परिरहेको छ । व्यापार सुधार र उदारीकरण नीतिले यी राष्ट्रहरूलाई व्यापार विस्तार तथा वृद्वि र गरिवी निवारणमा आशातीत योगदान पुर्याएको देखिँदैन । यी राष्ट्रहरूको निर्यात क्षमता तथा व्यापारसँग सम्बन्धित पुर्वाधारको निर्माण गर्न सघाउँनका लागि अन्तर्राष्ट्रिय समुदाय व्यापारको लागि सहयोगलाई विस्तार तथा सुधार गर्न सहमत भएको छ । जसले गर्दा अल्पविकसित राष्ट्रहरूलाई आफ्ना व्यापार विस्तार गर्न र विश्वको अर्थ बजारबाट फाइदा लिनका लागि टेवा पुग्दछ ।

नेपालमा व्यापारका लागि सहयोग

अल्पविकसित राष्ट्र तथा विश्व व्यापार संगठनको सदस्य भएका नाताले नेपाल व्यापारका लागि सहयोगका निम्ति दावेदार राष्ट्र हो । यसको निर्यात पक्ष निकै कमजोर छ । नेपाल विश्व व्यापार संगठनको एकीकृत संरचनामा सन् २००२ मा आवद्व भयो र उक्त निकायको सहयोगबाट निधानात्मक व्यापार एकीकरण रणनीति (DTIS) को दायित्व लियो । यसलाई नेपाल सरकारले सन् २००३ को अगस्टमा अनुमोदन गर्यो । सन् २००३ मे मा जारी गरिबी निवारण रणनीतिपत्रले व्यापारसम्बन्धी केही निधानात्मक व्यापार एकीकरण रणनीतिका सिफारिसहरूलाई समावेश गरेको छ । 

सुदृढ एकीकृत संरचनाले तह १ (विन्डो वान) र तह २ (विन्डो टु गरी लगानी गर्दछ जसलाई क्रमशः टायर १ र टायर २ भनिन्छ । तह एक पूँजी प्रवाहको यस्तो व्यवस्था हो जसले देशभित्र कार्यगत सहयोग प्रदान र निधानात्मक व्यापार एकीकरण रणनीतिलाई नवीकरण (अपडेट) गरेर राष्ट्रिय कार्यान्वयन व्यवस्थाको मानव संसाधनको क्षमता निर्माणमा सहयोग गर्दछ । तह २ ले भने यस रणनीतिमा पहिचान भएका प्राथमिकताका गतिविधिहरूमा, तिनको नवीकरण तथा एक्सन मेट्रिक्सका लागि आर्थिक लगानी गर्दछ ।

निधानात्मक व्यापार एकीकरण रणनीतिलाई नेपालमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) को सहयोगले नेपाल व्यापार एकीकरण रणनीति (NTIS) को रूपमा नवीकरण गरिएको थियो । नेपाल सरकारले नेपाल व्यापार एकीकरण रणनीतिलाई २०१० को जुनमा अनुमोदन गर्यो । नेपाल व्यापार एकीकरण रणनीति–२०१० वास्तवमा नेपाल सरकारको व्यापारसम्बन्धी प्राविधिक सहयोग र व्यापार सहयोगलाई सुदृढ एकीकृत संरचना (EIF) को संयन्त्रको कार्यान्वयन गरेर संयोजन र व्यवस्था गर्नका लागि आफ्नो क्षमता बलियो पार्ने प्रयास हो। यस संरचनाको सहयोगका लागि सरकारले सन् २००५ र २००८ को बीचमा दुईवटा विन्डो २ परियोजना आयोजना गर्यो । पहिलो परियोजना व्यापार सम्बन्धी क्षमता वृद्धिसँग सम्बन्धित छ भने दोस्रो, सुदृढ व्यापार सम्बन्धी दक्षता (ENTReC) सँग सम्बन्धित छ ।

नेपाल सरकारले सन् २००८ र २००९ मा राष्ट्रिय कार्यान्वयन व्यवस्था (NIA) को स्थापना गर्यो र तदनुसार सुदृढ एकीकृत संरचनाले मार्गनिर्देश गरेअनुरूप निम्न खाका तय गर्यो।

क. राष्ट्रिय सञ्चालन समिति (NSC)
ख. प्रमुख मन्त्रालयहरू सदस्य रहने गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आधारित राष्ट्रिय कार्यान्वयन इकाइ (NIU)
ग. राष्ट्रिय कार्यान्वयन इकाईलाई सहयोग गर्नका लागि मुख्य मन्त्रालयका प्राविधिक समितिहरू
घ. राष्ट्रिय कार्यान्वयन इकाईलाई प्रतिनिधित्व गर्न अनि विकास साझेदारहरू तथा जेनेभा, विश्व व्यापार संगठन, सुदृढ एकीकृत संरचना र व्यापारका लागि सहयोगका पहलहरूसँग सम्पर्क स्थापना गर्नका लागि इआइएफ फोकल प्वाइन्टस
ङ. दाता सहजकर्ता ।

नेपालमा व्यापारका लागि सहयोगका लागि योगदान दिने प्रमुख दाताहरूमा विश्व बैंक, जर्मनी, जापान, स्विटजरल्याण्ड र नर्वे रहेका छन् । आर्थिक सहयोग र विकास संस्था (OECD) का अनुसार नेपालमा व्यापारका लागि सहयोगको लागि छुट्टयाइएको रकम २००९ को ९ करोड ९१ लाखबाट सन् २०११ मा आएर झण्डै दोब्बर १७ करोड ३५ लाख ५० हजार रुपियाँ पुगेको छ ।

नेपालमा व्यापारका लागि सहयोगको प्रवाह (अमेरिकी डलर हजारमा)




Aid for Trade

Commitments

Disbursements

2002-05 avg.
2009
2009
Trade policy and regulations
84
2366
494
Economic infrastructure
76347
227173
118959
Building productive capacity
93930
62963
54100
Of which: Trade development market
-
32540
11008
Trade-related adjustment
-
-
-
Total AfT
170361
173553
AfT per capita(USD)
6
10
6




स्रोतः OECD, 2011

व्यापारका लागि सहयोग व्यापार नीति तथा नियम, आर्थिक पूर्वाधार, उत्पादन क्षमताको निर्माण र व्यापार सम्बन्धी समायोजन कार्यमा सहयोग गर्न समर्पित छ । यसका अलावा व्यापारका लागि सहयोग प्रतिवद्वताले ओगट्ने विशेष क्षेत्र भनेका यातायात, भण्डारण, उर्जा उत्पादन र वितरण, कृषि, वनजंगल, माछा पालन, बैँकिङ्, आर्थिक सेवाहरू, उद्योगधन्दा आदि हुन् । 

नेपालमा व्यापारका लागि सहयोगको वितरण (अमेरिकी डलर हजारमा)


                                      स्रोतः OECD, 2011

सन् २०१० को नोभेम्बरमा जर्मनी सरकार एउटा नयाँ दाता सहजकर्ताको रूपमा चुनियो । राजनीतिक तवरमा जर्मनी राजदुतावासले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो भने प्राविधिक तवरमा जर्मन अन्तरर्राष्ट्रिय सहयोग नियोग GIZ ले विश्व व्यापार संगठन/सुदृढ एकीकृत संरचना–सहयोग परियोजना WTO/EIF-SP द्वारा नेपालमा व्यापारका लागि सहयोगको लागि दाता सहजकर्ताको भूमिका निर्वाह गरेको थियो।


Rup Kumar BK, January 2012



This article was published in Nepal Trade Magazine, Issue 2, January 2012, GIZ
http://nepaltrade.org/sites/default/files/magazines/Nepal-Trade-Issue-2-Nepali1.pdf 

No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...

Archive