च्याङ्ग्रा—पश्मिना विकासमा कच्चापदार्थ र बजारीकरणको आवश्यकता


पश्मिना नेपालको उच्च निर्यातयोग्य वस्तुअन्तर्गत पर्दछ । नेपालमा पश्मिना बुन्ने प्रशस्त कारखाना तानहरु, उक्त मिहिन (सानो) रेशालाई कालिगढीपूर्वक बुनेर सुन्दर उत्पादन बनाउने हातहरु पनि छन् । तर, हामीसँग आवश्यक अन्तर्राष्ट्रिय बजारीकरण लगायत कच्चा पदार्थको अभाव छ । फलस्वरुप केही समय अगाडि राम्रो अन्तर्राष्ट्रिय व्यापार गरेको पश्मिना अहिले अलिक सुस्ताएको देखिन्छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले यही भन्छ । नेपालको उच्च हिमाली भेगको स्थानीय स्तरमा पालिने च्याङ्ग्राबाट प्राप्त हुने लोकप्रिय एवम् मुलायम ऊन तथा पश्मिना शताब्दीयौंदेखि राजा—महाराजा र उच्च घरानियाहरूको रोजाइ बन्न सफल भएको छ । तीन हजार मिटरभन्दा माथिका भू–भागमा पालिने च्याङ्ग्राको पेटको तल्लो भागबाट प्राप्त हुने न्यानो र नरम भुवाबाट युगौँदेखि तयार गरिँदै आएको उत्पादन नै यसको प्रमुख कारण हो । वास्तवमा नेपाली पश्मिना युरोप, अमेरिका, जापान तथा विश्वका सबै ठाउँहरूमा लोकप्रिय रहेको छ ।

हाल कच्चा पदार्थको लागि आयातमा भर पर्नुपरे पनि हामीसँग कच्चापदार्थ उत्पादनका लागि अनुकूल हावापानी र पश्मिनाका डिजाइन तयार गर्ने कामदारहरूको उपलब्धता भएका कारण पश्मिना उद्योेगको भविश्य राम्रो देखिन्छ । साथै, हामीसँग पश्मिनाका उत्पादनलाई अन्तिम रूप दिनका लागि पनि प्रशस्त मात्रामा तान र औजारहरू छन् । पश्मिना उद्यमले हिमाली भेगमा बस्ने गरेका किसानका लागि आय–आर्जनको लागि राम्रो अवसर प्रदान गर्ने सामथ्र्य राख्दछ । पश्मिना व्यवसायलाई प्रवद्र्धन गरी निर्यातयोग्य बनाउने हो भने हामी उच्च पहाडी भेगको गरिबी निवारण गर्न सफल हुनेछौं ।

पश्मिनाको मूल्य वृद्धि गरिएका उत्पादनहरूको निर्यातबाट नेपालले प्रशस्तै विदेशी मुद्रा पनि आर्जन गर्न सक्दछन् ।
अन्तर्राष्ट्रिय बजारमा छिमेकी मुलुकहरूले पश्मिनाको नक्कल गरी कारखानाबाट उत्पादन गरेका ऊनका सस्ता सामानहरूको निर्यात गरेका कारण नेपाली पश्मिना नराम्ररी प्रभावित हुन पुगेको थियो । वास्तवमा सन् २००० पछि झण्डै एक दशकको समय पश्मिना ठूला घरानाहरूले प्रयोग गर्ने उच्चस्तरको विलासी उत्पादनबाट न्यून कोटिको वस्त्रका रूपमा परिचित हुन पुग्यो । अर्कोतर्फ नक्कली पश्मिना र कमसल वस्तुका उपभोक्ताहरू गुणस्तरीय र वास्तविक पश्मिनाका उत्पादनका लागि धेरै मूल्य तिर्न तयार भएनन् । यसले गर्दा नै आर्थिक वर्ष २०५७ र ०५८ मा ५अर्ब २७ करोड रुपैयाँ बराबर निर्यात भएको पश्मिना आव २०६५ र ०६६ मा आएर १ अर्ब ८१ करोड रुपैयाँमा झर्न पुग्यो ।
नेपाल सरकारले निर्यातको उच्च सम्भावना र ग्रामीण क्षेत्रमा समेत गहिरो सामाजिक–आर्थिक प्रभाव पार्नसक्ने
देखिएकाले पश्मिनालाई नेपालका लागि लाभदायक निर्यातजन्य वस्तुहरूमध्ये एकका रुपमा एकीकृत व्यापार
रणनीति–२०६७ र वाणिज्य नीति–२०६५ मा समेत उल्लेख गरेको छ । सरकारले पश्मिनाका उत्पादकहरूसँग मिलेर
पश्चिमी मुलुकहरूको मुख्य निर्यात बजारहरूमा नेपालको विशेष ऊन पु¥याउनका लागि ‘च्याङ्ग्रा–पश्मिना’ को नयाँ लोगो दर्ता गरेको छ । नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको सहयोगमा लोगो दर्ताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल पश्मिना उद्योग संघले नेपाल व्यवसाय मञ्चको निर्यात प्रवद्र्धन व्यापार सहजीकरण कार्य समूहको निर्णय सहित नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको प्रस्तावलाई सो मन्त्रालयले स्वीकृत गरी विभिन्न मुलुकमा ‘च्याङ्ग्रा–पश्मिना’ दर्ता प्रक्रियाका लागि ८६ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जाहेर ग¥यो । हालसम्म ‘च्याङ्ग्रा–पश्मिना’ लोगो ४१ मुलुकहरूमा दर्ता भइसकेको छ ।

नेपाल सरकारले पश्मिनाका उत्पादनहरूको गुणस्तर प्रमाणित गर्न प्रयोगशालाको स्थापना गरेको छ भने पश्मिनाका
निर्यातकर्ताहरूले पनि नेपाली पश्मिनाको नक्कली उत्पादनबाट बच्न  ‘च्याङ्ग्रा–पश्मिना’ लोगोको प्रयोग गरेका छन् । पश्मिनालाई ‘च्याङ्ग्रा–पश्मिना’ का रूपमा ब्रान्डिङ गरेपछि आव २०६६ र०६७ मा (करिब २ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ भन्दा आव २०६७ र ०६८ मा (करिब ३ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पश्मिनाको निर्यातमा उल्लेख्य रूपमा निर्यात वद्धि भएको पाइएको थियो । स्मरण रहोस् मुलुकभर ५ सय पश्मिना उद्योग छन् । यस पेशाबाट प्रत्यक्ष वा अप्रत्यक्ष गरी २५ हजार जनाले रोजगारी पाइरहेका छन् । नेपालबाट निर्यात हुने  हस्तकलाको सामग्रीमध्येमा  पश्मिनाको १३ प्रतिशत योगदान रहेको छ ।

नेपालका पश्मिना उद्योगलाई ‘नेपाल पश्मिना’ बाट ‘च्याङ्ग्रा–पश्मिना’ मा परिवर्तन भएको लोगोले गर्दा धेरै यसको
निर्यातमा ठूलो फड्को मा¥यो । ब्राण्डको नाम परिवर्तन हुँदा निश्चय नै बैङ्कको निर्यात आँकडामा उल्लेख्य रूपमा परिवर्तन आएको देखिएको छ । त्यसो भन्दैमा व्यवधानबाट मुक्त भएको भने होइन । तर पनि प्रशोधन प्लान्टको अभावमा स्थानीय ऊन न्यून मूल्यमा निर्यात गरी महँगोमा कच्चापदार्थ आयात गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार सङ्गठनको आव २०६४ र ०६५ को अनुसन्धान प्रतिवेदन अनुसार यदि प्रशोधन प्लान्ट स्थापना गर्ने हो भने उक्त ऊनले आवश्यक कच्चापदार्थको ४० प्रतिशत हिस्सा परिपूर्ति गर्न सक्थ्यो । हामीले अझै पनि नेपाली पश्मिनाको सम्भावित बजारका ग्राहकमाझ गुणस्तरीय उत्पादन सुनिश्चित गर्न सामूहिक चिन्ह ‘च्याङ्ग्रा–पश्मिना’ को पर्याप्त प्रचारप्रसार नगरेका कारण उक्त बजारमा पूर्ण रूपले पहुँच पुर्याउन सकेका छैनौ ।

नेपालका लागि दोस्रो ठूलो निर्यात बजारका रूपमा रहेको संयुक्त राज्य अमेरिकामा नेपालले हस्तकलाका सामग्री, जडिबुटी, तयारी पोशाक, पश्मिना र ऊनीका गलैंचा निर्यात गर्दै आएको छ । १७ अप्रिल, २०११ मा गरिएको द्वि–व्यापारसन्धि, व्यापार तथा लगानी संरचना सम्झौताको दोस्रो संयुक्त परिषद्को बैठकमा नेपाल सरकारले अमेरिकी व्यापारसम्बन्धी मुद्दाहरूको तत्काल निरूपणका लागि अनुरोध गरेको थियो । यसका साथै, नेपाल सरकारले अमेरिकी सरकारलाई पश्मिना तथा तयारी पोशाक सहित अन्य ११ उत्पादनका लागि विशिष्टीकृत स्थान प्रदान गर्नका लागि समेत अनुरोध गरेको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसको दोस्रो व्यापार तथा लगानी संरचना सम्झौता बैठकमा नेपाली उत्पादनका लागि सामान्य ग्राह्यता प्रणालीको सुविधा उपलब्ध गराउन सिफारिस गरेको थियो । अमेरिकी सरकार दुई देशबीच लगानी प्रवद्र्धन गर्न सकारात्मक देखिएकाले अब नेपाल लगानी वर्ष सन् २०१२ र ०१३ मा अमेरिकी लगानी नेपालमा भित्रिने तथा अमेरिकी बजारमा नेपाली पश्मिना र तयारी पोशाकको पहुँच बढ्ने सम्भावना देखिन्छ ।

नेपाल सरकारले पश्मिनालाई नेपाल व्यापार एकीकरण रणनीति–२०६७ ले पहिचान गरेका १९ वटा क्षेत्रमध्ये प्राथमिकताको स्थानमा राखेको छ । हालै सरकारले विश्व व्यापार संगठन अन्तर्गत अल्पविकसित राष्ट्रहरुलाई व्यापारमा सघाउने निकाय सुदृढीकृत संरचनामार्फत् १८ लाख डलर प्राप्त गरेको छ । उक्त परियोजनालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रले कार्यान्वयन गर्नेछ । यस परियोजनाले च्याङ्ग्रा–पश्मिना उत्पादकहरूलाई सहयोग पु-याउन अन्तर्राष्ट्रिय बजारमा पहुँच वृद्धि गर्न, ब्राण्डको लोकप्रियताको विकास र नेपाल पश्मिना संघको संस्थागत विकासको लागि प्रयास गर्नेछ ।

नेपाल सरकारले रुस, संयुक्त अरब इमिरेट्स (दुबई, चीन, भारत, दक्षिण अमेरिका, थाइल्याण्ड, ब्राजिल र ताइवानमा पनि ‘च्याङ्ग्रा–पश्मिना’ को लोगो दर्ता प्रक्रियाका लागि सहयोग गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले उपलब्ध पश्मिना उत्पादनको गुणस्तर, पश्मिनाको मुलायमपना तथा यसलाई प्राकृतिक रेसाको आधिकारिकता प्रदान गरेको छ ।

ठूलो निर्यात सम्भावना बोकेको पश्मिनाबाट देशले आर्थिक लाभ तथा रोजगारी हासिल गर्न आफ्नै देशमा कच्चापदार्थ उत्पादन, अझ बढी देशहरुमा “च्याङ्ग्रा—पश्मिना” को लोगो दर्ता र अन्तर्राष्ट्रिय बजारीकरण मा अझ मिहेनत गर्नुपर्ने देखिन्छ । हिमाली भेगमा च्याङ्ग्राको उत्पादन बढाउन सके पश्मिनाको साथ साथै मासुमा समेत देश आत्मनिर्भर बन्ने पक्का छ । विभिन्न देशमा रहेका दूतावास, गैरआवासीय नेपाली लगायत विद्यार्थीहरु समेतको सक्रियतामा पश्मिनाको बजारीकरणलाई व्यवस्थित गरी ब्राण्ड स्थापना गर्न सकिन्छ । तसर्थ यस्ता गतिवधिलाई बढाउन सकियो भने पश्मिनाबाट देशले बढीभन्दा बढी लाभ लिन सक्ने कुरामा दुईमत नहोला ।

------------------------------------------------------------------
Published in 'Aarthik Dainik', Wednesday, November 13, 2013.

No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...