खानाको विबादमा अल्झेकोे समाज (With respect to Beef eating in Nepal)


इतिहास खोतल्दै जाने हो भने लगभग तीनसय पुस्ता जति अगाडिका पुर्खाहरुले जीवन धान्नको लागि के के खाए होलान् ? अनुमान मात्र गर्न सकिन्छ । तर, जसको कारण हामी यस धर्तीमा छौँ, उहाँहरुले आफूलाई जिवित राख्न खाएको कुरा तपाई हामीले कल्पना गरेको भन्दा पक्कै पनि धेरै भिन्न थियो भन्ने कुरा चाहिँ सहजै अनुमान गर्न सकिन्छ ।     


मानिसहरुको खानपान र रहन—सहन उनीहरु बाँचिरहेको तत्कालिन समय, वातावरण र भूगोल आदिसँग प्रत्यक्ष सरोकार राख्ने भएका कारण एउटा समुदायको खाना व्यवहारलाई अर्को समुदायको प्रतिष्ठा या निकृष्टताको मापदण्ड बनाईनु हुँदैन ।


मानिसको व्यवहार र आचरण उनीहरु बाँचेको तत्कालिन समाज, काल र परिस्थिति आदिले निर्धारण गर्दछ । कृषि युग शुरु हुनुभन्दा अगाडि नै वा आदिमकालमा मानिसको झुण्ड जनावरहरुको शिकार गर्ने र फलफूलहरु जम्मा पार्ने र आवश्यकताहरुको जोहो गर्ने र त्यसैबाट गुजारा चलाउँथे । त्यो बेला हरिण, मृग, गाई, भैसी, सुँगुर या कुकुर जे भेटे पनि शिकार गरेर खाने समाज थियो । त्यतिबेला शिकार गर्ने जनावरको छनोट गर्नुभन्दा पनि त्यसको उपलव्धता महत्वपूर्ण थियो । त्यसैले उनीहरुले जे भेट्यो त्यही जनावरको शिकार गरेर आफ्नो जीविका चलाउँथे ।

आजकल पनि मानिसको भौगोलिकता, सामाजिक बनौट र संस्कार अनुसारनै मासु खाने पशुपंक्षीमा विविधता छ । उदाहरणका लागि पेरुमा बिरालो, भियतनाम, दक्षिण कोरिया, जापानमा भ्यागुता, थाईल्याण्डमा किराहरु, चीनमा सर्प ईत्यादि खाँदै आईरहेका छन् । मानव जातिले नखाएको जनावरहरु सायदै कम होलान् । सन् २०१७ को एक तथ्यांकलाई आधार मान्ने हो भने संसारभरिमा सबैभन्दा धेरै अर्थात ३६ प्रतिशत बंगुर÷सँगुरको मासु खाइन्छ भने दोस्रो नम्बर (३ प्रतिशत) मा ‘बीफ’ अर्थात गाइगोरुको मासु खाइन्छ । त्यसैगरी तेस्रो धेरै मासु खाइने भनेको कुखुराको हो जुन जम्मा खाइने मासुको २४ प्रतिशत हुन आउँछ । यसरी हेर्दा संसारभरि सबैभन्दा धेरै मासु खाइने जनावर गाइगोरु नै हुन् ।

गोमास खाने बारेमा प्रसिद्ध भारतीय लेखक निरद चौधरीले आफ्नो किताव ‘द कन्टिनेन्ट अफ सिर्स मा भारतीय उपमहादिपमा धेरै अगाडि गोमास (गाइको मासु) खाने चलन थियो भन्ने कुरा उल्लेख गरेका छन्। मा प्राचीन भारतमा उच्च जातका हिन्दु ऋषिहरुले समेत गोमास खान्थे भनेर लेखेका छन् । उनका अनुसार बेदमा गाईप्रतिको लगाव त्यसको आर्थिक उपयोगितासँग मात्र जोडिएको थियो न कि धर्मशास्त्रसँग । त्यस्तै ‘हिस्ट्री अफ धर्मशास्त्र’ र ‘हिस्ट्री अफ संस्कृतिक पोइटिस’ लगायतका कितावका लेखक तथा संस्कृतका विद्वान डा. पान्दुराम बमन काणेले गाईलाई पवित्र मान्नुभन्दा पहिला हिन्दु समाजमा गोमास चल्थ्यो भनेर लेखेका छन् । वैदिककालमा भने गाई पवित्र थियो । पवित्र भएकै कारण गोमासको सेवन गनुैपर्छ पनि भनिएको पाईन्छ (मराठीमा धर्मशास्त्र विचार, पृष्ठ–१५०) ।

वैदिककालको हिन्दु विधिशास्त्र ऋगवेदमा त तत्कालीन आर्यहरुले गोमास सेवन गरेको दृष्टान्त नै छ । ऋगवेद (१०.८६.१४) मा ईन्द्रले सम्बोधन गर्दै उनले एकपल्ट ५ भन्दा बढी गोरु पकाए भनिएको छ । त्यस्तै ऋगवेद (१०.९१.१४)मा अग्नीको लागि घोडा, गोरु, साँढे, थारो गाई र भेँडाको बली दिइएको कुरा स्पष्टसँग उल्लेख गरिएका छ । ऋगवेद (१०.७२.६) मा गाईलाई तरबार या कुल्हाडी प्रयोग गरी बध गर्न सकिने पनि लेखिएको छ । ऋगवेदमा लेखिएका यी सन्दर्भहरुले तत्कालिन समयमा ब्राम्हण र गैरब्राम्हण हिन्दुहरुले गोमास सेवन गरेको कुरा प्रमाणित हुन्छ । 

तर गोमासमा प्रतिबन्ध भने धेरै पछि मात्र भएको पाइन्छ । गौतम बुद्ध अनिश्वरवादी थिए र उनको प्रभाव भारतीय भूमिका निकै बढ्दै गयो । यसबाट तत्कालीन भारतीय समाजको वैदिक संस्कृतिलाई निकै ठलो चुनौती बुद्धले दिएको ठान्न थालियो । डा. भिमराव अम्बेडकरले समग्रमा सिंङ्गो जातव्यवस्था र बौद्धकालीन जातिव्यवस्थाबारे अनुसन्धान गरेर ‘द अन्टचेवल्स’ नामको पुस्तक नै प्रकाशित गरे । जसमा उनले गौमासको अभ्यास कसरी छोडियो भन्ने कुरा पनि समावेश गरेका छन् । उनले गौमास परित्याग कुनै धर्मका कारण नभइ तत्कालिन ब्राम्हणहरुको युद्धनीति भएको लेखेका छन् । गौतम बुद्धले आर्यहरुद्वारा यज्ञमा गरिने पशुवलीको विरोध गरेको थिए र यसबाट प्रभावित भएर बहुसंख्यक मानिसहरु बुद्धधर्म अँगालेका थिए । यसकारण भारतमा जबरजस्त बौद्धिको संख्या बढ्ने र हिन्दुहरु कमजोर हुने भयका कारण धर्म बचाउने नाममा हिन्दूहरुले गौभक्षण छोड्ने र शाकाहारी बन्ने अभियान थालेका थिए । तर, गोमास गर्ने हिन्दूहरु धर्म बचाउने नाममा गाईको मासु नखाने मात्रै होइन एककदम अगाडि बढेर पुजा नै गर्न थालेको र बिस्तारै यसैलाई धार्मिक कार्यक्रम बनाएको कुरा उनको पुस्तकमा उल्लेख छ । हिन्दूधर्म छोडेर बौद्ध धर्ममा कोही पनि नजाउन भन्ने उद्देश्यले मात्र उनीहरुले गौपूजा गर्न थालेको उनको अध्ययनले प्रष्ट्याएको छ ।

मावनशास्त्री डोरबहादुर विष्टले उनी बेपत्ता हुनु केहि समय अगाडि वि.सं. २०५२ साल जेठतिर दिएको एक अन्तवार्तामा उनले नेपालमा गोमासको प्रचलन उहिले देखिनै रहेका कुरा दाबी गरेका छन् । उनका अनुसार खस–आर्यहरु पशुपालन र घुमन्ते  हुुन् र सोही कारण उनीहरु छिटो हिड्ने जनावरहरु गाई, घोडा, भेडाबाख्रा र कुकुरजस्ता जनावर लिएर नेपालको पश्चिम भागबाट विशेष गरी कर्णाली भू–भागमा बसाई सरेको कुरा उल्लेख गरेका छन् । तर, यहाँका किराँत जातिहरु भने हिमालको फेदमा, दक्षिण चीन, बर्मा, थाईल्याण्डलगायत घनाजङ्गगल भएको ठाँउमा बसोबास गर्ने भएकाले उनीहरुले ढिलो हिड्ने जनावरहरु भैँसी, सुंगुर पाल्थे र उनीहरु बिस्तारै पश्चिमतिर बढेको बताएका छन् । खस आर्यहरु पूर्वतिरबाट बाटोमा भेटिने स–साना समुहलाई जित्दै आफ्नो अधिपत्य कायम गर्दै अगाडि बढ्दै जाने क्रममा उनीहरुले जितेको ठाउँहरुमा खस–आर्यहरुले गाई खान बिस्तारै प्रतिबन्ध लगाउँदै गएको मानिन्छ । यसले के कुरा प्रष्ट्याउँछ भने खसआर्यहरु पहिले गाईगोरुको मासु खान्थे तर धर्म रक्षाका लागि भन्दै बिस्तारै गाइखान प्रतिबन्ध लगाउने अवस्थासम्म आइपुगेका थिए भन्ने कुरा प्रष्ट देखिन्छ ।

मल्लकालमा जयस्थिति मल्लले हिन्दुवर्णाश्रम व्यवस्थाअनुसार चारजात र छत्तीस वर्णमा समाज विभाजन गरेपछि भने गाई खाने र पुज्नेबीच झनै ठलो खाडल देखा प¥यो । यहि सिलसिलाई कायम राख्दै जँगबहादुर राणाले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरेर कानूनमै गाईलाई संरक्षण गर्ने अवधारणालाई कानुनी रुप दिए ।  उक्त ऐनमा गाई काट्नेलाई जातअनुसार सजायँस्वरुप ज्यानै मासिदिने वा हत्या गर्नेसम्मको प्रावधान बनाइयो । यसरी नेपालमा लिच्छवीकालबाट अहिलेसम्म गाईले धार्मिक र कानुनी संरक्षण प्रदान गरियो । विष्टकाअनुसार गाई खानेहरुले भने त्यो अवधिमा पनि गाइको मासु खाइनै रहेका थिए । मानवशास्त्री विष्टकै भनाइलाई आधार मान्दा नेपाललाई कानुनीरुपमा नै हिन्दू राज्य बनाइएपछि गाई काटे सजाय हुन्छ भन्ने अवधारणा प्रयोगमा ल्याइएको हो । राणाशासनमा राजनीतिकर्मीले, पञ्चायती व्यवस्थामा दलिय पक्षधर राजनीतिकर्मीले जस्तै नेपालमा इतिहासदेखि नै गाई खाने समुदायले दमनकारी राज्यव्यवस्थाकै कारण लुकी हिँड्नु परेको हो ।

मानिसहरुको खानपान र रहन—सहन तत्कालीन समय, बातावरण र भुगोलसँग प्रत्यक्ष सरोकार राख्ने भएका कारण एउटा समुदायको खाना व्यवहारलाई अर्को समुदायको प्रतिष्ठा या खाने समुदायको निकृष्टताको मापदण्ड बनाईनु हूँदैन । संसारभरि हेर्ने हो भने मानिसहरुले भूगोल, आवश्यकता र उपलब्धता जे सजिलो हुन्छ, त्यहि खान्छन्, समग्रमा भन्ने हो भने खान योग्य र शरीरलाई नै हानी गर्ने पदार्थबाहेक सबै चिज खाएका छन् । बसुधैव कुटुम्वकम्, अर्थात् संसारभरका मानिसहरु एउटै परिवार हुन् भने गाइलगात सबै खानेकुरा सबैको परिवारले खाएका छन् ।

केहि अपवादलाई छोडेर हरेक घरमा एउटै परिवारका सदस्यबीच पनि व्यक्तित्व, व्यवहारगत हिसाबले खानेकुराको छनोटमा विविधता हुन्छ । कोही कम र कोही बढी बोल्छन् भनेजस्तै कोही साकाहारी हुन्छन त कोही सर्वाहारी । एउटै परिवारमा पनि खानाको छनौट फरक—फरक हुन्छ । तैपनि यी सबै विवधतालाई सम्मान गर्दै परिवार व्यवस्थित भएकै हुन्छ । सबैको विविधता र विविध रुचि वा आवश्यकतालाई सम्मान गर्न सकेन भने परिवार परिवार जस्तो रहँदैन । तर, जहाँ एकव्यक्तिको अभिरुचिलाई मात्र परिवारको वैधानिकता दिन खोज्छ, तब त्यो परिवार परिवार रहँदैन । समाज र देश पनि त्यस्तै हो । खास एउटा समुदायको रुचि र चाहना सबै समुदायलाई लाद्न खोज्नु विविधताको सम्मान नगर्नु वा देशरुपि परिवार भाँड्नु नै हो ।

गाई खाने वस्तु हो कि होइन भन्ने अर्को बहसको विषय हो । धार्मिक विश्वासलाई लिने हो भने ईश्वरले सबै प्राणिहरुलाई आफ्ना सन्तान जसरी रचना गरे । यो हिसाबले हेर्ने हो भने पनि मानवलगायत सबै जनावरहरु उत्तिकै समान व्यवहारको अधिकारी छन् । तर प्रकृतिको नियममा ईश्वरका रचनाहरु एकले अर्कोलाई खान्छन् । यसलाई पारिस्थितिक प्रणाली अर्थात ईकोसिस्टम भनिन्छ । गाई र मानिस यहि ईकोसिस्टमको खाद्यश्रृङखलाको फरक पदानुक्रममा छन्, जहाँ मानवले आफूभन्दा उक्त श्रङखलामा तल्लो तहका प्राणी र वनस्पतीलाई आफ्नो जिविकाको लागि भक्षण गर्दछ । हामीले प्रतिनिधित्व गर्ने हाम्रा पूर्वजहरु यहि खाद्यश्रङखला अनुसार जीवन धानेकै कारण उहाँहरुको पछिल्लो पुस्ताको प्रतिनिधि पात्र हामी यस धर्तिमा छौ । यही विज्ञानअनुसार नै मानवलगायत संसारका प्रायजसो जीवहरु बाँचेका छन् र प्रकृतिको नियम चलेका छन् । यहाँ कसैलाई देवत्वकरण गर्न र अर्कोलाई दानवीकरण गर्नु भनेको प्रकृतिको त्यो प्रणालीको सन्तुलन बिगार्नु हो । त्यही असन्तुलन हामीले गर्ने प्रयास ग¥यौ भने त्यो विषमता कहिलेकाँही हामी तिरै फर्कन्छ ।   

त्यसैले मानिसहरुका एक समुदायले आफ्नो प्रतिष्ठालाई गोमास खानु र नखानुसँग जोडिनु पनि हानिकारक नै हुन्छ । त्यति मात्र होईन यी दुई समूहको अहमको प्रतिस्पर्धाले गर्दा अमुक पशुले नै दुःख पाएका उहाहरण पनि छन् । हिन्दुहरुले गाईलाई पुज्यनीय बनाएका कारण बूढो भएको गाई, गोरु या बाच्छा सडकमा त्यसै अलपत्र छोडिएका छन् । त्यस्तै अर्को पक्षले पनि हिन्दुको घृणाको रिस अवोध पशुमाथि थोपरेर यदाकदा हिँसामा उत्रेका उदाहरणहरु पनि छन् ।

अहिले लिच्छवीकालको भन्दा यो भुखण्ड भन्दा देश, काल र परिस्थिति फेरिएको छ । अहिले पनि पहिलेको भन्दा समय धेरै फेरिईसकेको छ । खसआर्य पनि त्यो बेला जत्तिको लडाकु रहेनन् । हामी कुनै झुण्डको कबिलातन्त्रभन्दा पनि लोकतन्त्र र सामाजिक न्यायमा बढी विश्वास राख्छौं । उहिले एउटा समुदायको धर्मलाई राज्यको धर्म बनाईएको थियो भने अहिले राज्य सबै धर्म मान्नेहरुलाई समानरुपले व्यवहार गर्न धर्मनिरपेक्ष भएको छ ।

त्यसैले वैयक्तिक स्वतन्त्रतामा विश्वास गर्ने हामीले आफ्नो विचारका कारण दोश्रो व्यक्तिले यो गर, त्यो गर, यो खा या त्यो नखा भन्नु पक्कै पनि सुहाउँदैन । धार्मिक र जातीय श्रेष्ठताको जमाना अहिले नभएको कारण जस्ले पुज्छ, पुज्न दिऔं । त्यो उनीहरुको वैयक्तिक स्वतन्त्रताको कुरा हो । तर जसले खाँदै आइरहेका छन्, उनीहरुको पनि वैयक्तिक स्वतन्त्रताको सम्मान हुनुपर्छ, पुज्नेले पनि पुज्न पाउनुपर्छ ।

भनिने गरिन्छ नि ‘आफ्नो हात त्यति मात्र हल्लाउनुपर्छ जसले अरुको नाक नछोओस्’, लोकतन्त्रको सौन्दर्य पनि यहि नै हो ।

This article was published in Ratopati.com
You can access the article in the link, http://ratopati.com/story/39926

No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...